![]() |
बागलुङ जिल्लालाई प्रदेश नम्बर चार र पाँचमा विभाजन गरी संविधानसभामा प्रस्तुत विधेयकमाथि संशोधन गर्न माग गर्दै बागलुङका आन्दोलनकारी सडकमै सुतेका छन् । आन्दोलनका कार्यक्रम अन्तर्गत बागलुङ बजारमा सडकमै सुतेर उनीहरुले नाराबाजी समेत गरेका थिए ।
शनिबार बिहान बागलुङ बजारको मुख्य सडकमा सुतेर आन्दोलन गरिरहेका आन्दोलनकारीहरुले समग्र बागलुङलाई प्रदेश नम्बर चारमै राख्न आग्रह गरेका थिए । उनीहरुले आफुहरु दुई सातादेखि निरन्तर शान्तिपूर्ण आन्दोलनमा उत्रिरहेको उल्लेख गर्दै माग पूरा नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिएका थिए ।
संविधानसभामा प्रस्तुत विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्ने अन्तिम दिन शनिबार आन्दोलनका कार्यक्रमलाई थप सशक्त बनाइएको उद्योग बाणिज्य संघका अध्यक्ष बसन्तकुमार श्रेष्ठले बताउँनुभयो । एकीकृत बागलुङको माग गर्दै बागलुङका राजनीतिक दल र सामाजिक संघ संस्थाहरुले संयुक्त रुपमा आन्दोलनको कार्यक्रम आव्हान गरेका थिए । भदौं ६ गतेदेखि शुरु भएको बन्दका कारण बागलुङको जनजीवन प्रभावित बनेको छ । बन्दका कारण जिल्लाका व्यापारिक केन्द्रहरु बागलुङ बजार, बुर्तिवाङ बजार, हटिया बजार, खर्वाङ बजार, कुश्मीसेरा बजार र बरेङ बजार पूर्णरुपमा बन्द भएका छन् । बजारसँगै यातायातका साधनहरु पूर्णरुपमा बन्द हुँदा गाउँ गाउँमा खाद्यान्नको समेत अभाव हुन थालेको छ । बन्दसँगै विद्यालयहरु बन्द भएपछि विद्यार्थीहरुको पठनपाठन पनि प्रभावित भएको छ । विद्यालय बन्द भएपछि बालबालिकाहरु आन्दोलनकारीसँग नाराजुलुसमा हिड्ने गरेका छन् ।
By — Unknown