आँशु टिलपिल पार्दै बाबुरामले भने-भत्केको घरमा फर्किन्न प्रचण्डमाथि भट्टराईका चार सांकेतिक अभियोग के-के हुन् ?

आँशु टिलपिल पार्दै बाबुरामले भने-भत्केको घरमा फर्किन्न प्रचण्डमाथि भट्टराईका चार सांकेतिक अभियोग के-के हुन् ?

९ असोज, काठमाडौं । चार दशक लामो राजनीतिक जीवनको एउटा अध्याय समाप्त भएको घोषणा गर्दै पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले एमाओवादी पार्टी र सांसद पद परित्याग गरेका छन् ।
शनिवार राजधानीको इन्द्रेणी प्लाजामा पत्रकार सम्मेलन गर्दै बाबुरामले एमाओवादीको साधारण सदस्य र गोरखा क्षेत्र नम्बर १ को सांसद सदस्यबाट समेत राजीनामा दिएका हुन् ।
राजीनामा घोषणा गरेपछि पत्रकारका दुई प्रश्नको छोटो जवाफ दिएर हतार हतार बाहिरिन लाग्दा बाबुरामका आँखामा आँशु टिल्पिलाएको प्रष्टै देखिन्थ्यो । उनी पार्टी छाडेको घोषणा गर्दा भाबुक देखिन्थे ।
तपाईले पार्टी छाडिरहँदा तपाईको बिचारलाई साथ दिदै आएका माओवादी नेताहरुको भविष्य के हुन्छ ? अनलाइनखबरकर्मीको प्रश्नमा उनले भने-‘अहिले म एक्लै छाडेर हिडेको हुँ, सबैसँग छलफल गरेर पछि निर्णय हुन्छ ।’
पार्टी छाडेर हिँड्दै गर्दा बाबुरामले एमाओवादी पार्टीलाई ‘भत्किएको घर’को संज्ञा दिए । उनले भने-‘घर चुहिने भएपछि नयाँ बन्छ, त्यसैमा फर्केर गइँदैन ।’
बाबुरामले अचानक पत्रकार सम्मेलन गर्दा उनीसँग निरन्तर अन्तरक्रिया गरिरहेका पत्रकारहरुलाई उनले माओवादी पार्टी छाड्छन् भन्ने आंकलन भइसकेको थियो । तर, धेरैका लागि यो अप्रत्याशित थियो ।
यद्यपी उनले पत्रकार सम्मेलन गर्नुअघि प्रचण्डलाई भेटेर आफूले २५ वर्ष लामो सम्बन्ध अन्त गर्न चाहेको जानकारी दिइसकेको थिए । त्यस्तै उनले सभामुख सुवास नेम्वाङलाई पनि सांसदबाट राजीनामा दिएको पत्र पठाइसकेका थिए ।
प्रचण्डलाई सांकेतिक प्रहार
प्रचण्डसँगको करीव अढाई दशक लामो राजनीतिक सांगठनिक सम्बन्ध बिच्छेद गरेर हिँड्दै गर्दा बाबुरामले प्रचण्डमाथि केही प्रसंगमा निर्मम प्रहार गर्न छुटाएनन् ।
उनले विशेषतः प्रचण्डमाथि संविधानसभाको बिरोधी, आर्थिक रुपमा अपारदर्शी, नक्कली राष्ट्रवादको सांकेतिक अभियोग लगाउँदै अदूरदर्शी नेताको संज्ञा मात्र दिन बाँकी राखे ।
साइकले राष्ट्रवाद मुबारक !
पछिल्लो पटक भारतले अघोषित नाकाबन्दी लगाइसकेपछि प्रचण्डले साइकल चढ्ने भनी दिएको अभिव्यक्तिको उनले कटाक्ष गरे । पत्रकार सम्मेलनमा बाबुरामले भने-‘टुकी बाल्ने र साइकल चढ्ने राष्ट्रवादी बन्ने कि विद्युतीय मोटर चढ्ने राष्ट्रवादी ? अवश्य पनि म बिद्युतीय मोटर चढ्ने राष्ट्रवादको पक्षधर हुँ ।’
उनले नेपालका शीर्ष नेताहरु मौसमी राष्ट्रवादी रहेको बताउँदै दिउँसो खुलामन्च (टुँडिखेल)बाट कड्किनेहरु राति गएर विदेशीको पाउमा लम्पसार पर्ने गरेको प्रसंग निकाले । ‘चुनावी खर्च र सांसद किनबेचका लागि विदेशी दूतावासमा रकम माग्न धाउने, थर्ड डिभिजनवाला आफ्ना छोराछोरीलाई छात्रवृत्तिका लागि पाउ मोल्नेहरु नक्कली राष्ट्रवादी हुन्’ भट्टराईले भने-‘अहिले नेताहरुले जे देखाइरहेका छन्,यो शुरुवात जारी रहोस म खुसी हुनेछु ।’
आर्किटेक्टका आरोह अवरोह
शान्ति र संविधान निर्माण अनि लोकतान्त्रिक गणतन्त्रक आर्किटेक्ट मानिने भट्टराईले संविधानसभा र लोकतान्त्रिक गणतन्त्रको आफ्नो प्रस्ताव विगतमा प्रचण्डले कसरी लत्याए भन्ने पनि स्मरण गरे । उनले भने-‘मैले २०४५ सालमै संविधानसभाको एजेण्डा उठाउँदा प्रचण्डले बिरोध गर्नुभयो र राष्ट्रिय जनआन्दोलन समितिनै भंग भयो, पछि पनि उहाँले संविधानसभाको नाम सुन्नै नचाहने भएकाले ४० बुँदे माग राख्दा जनताबाट चुनिएका प्रतिनिधि भन्ने शव्द राख्नुपरेको थियो ।’
संविधानसभाबाट संविधान जारी गर्ने आफ्नो एजेण्डा २०५७ सालमा आएर पार्टीले स्वीकार गरेको बताउँदै भट्टराईले लोकतान्त्रिक गणतन्त्रको कुरा उठाएर लेख्दा आफूलाई पार्टीबाट कारवाही गरिएको क्षण पनि सम्झिए । ‘मैले लोकतान्त्रिक गणतन्त्र किन चाहियो भनेर लेख लेख्दा कमरेड प्रचण्डले पार्टीबाट निकाल्नुभयो, त्यसको दुई दिनपछि तत्कालिन राजाले कु गरे, पछि चुनवाङ बैठकले मेरै एजेण्डा पारित गर्यो’ उनले भने ।
बाली लुट्न अरु नै आए
संविधानसभाबाट संविधान जारी भएको दिन आफू सबैभन्दा खुसी भएको उनले बताए । संविधानसभाको एजेण्डा उठाएदेखि संविधानको अन्तिम मस्यौदा बनाउनेसम्मको काम आफ्नै नेतृत्वमा भएको उनले दावी गरे ।
उनले संविधानसभाबाट संविधान जारी गर्दा थारु र मधेशीमाथि प्रदेश सिमांकनका क्रममा अन्याय भएको बताए । उनले संविधान जारी हुँदा पूरै देशले खुसियाली मनाउन नपाउनु दुःख रहेको भन्दै आफू मधेसी र थारु आन्दोलनका पक्षमा रहेको प्रष्ट पारे । ‘हिजो जो संविधानसभा र गणतन्त्रका बिरोधी थिए उनीहरु आज संविधानका खुसियालीमा बढि नाचगान गरिरहेका छन्’ भट्टराईले भने-‘इतिहामा यस्तो हुन्छ, बिउ एउटाले लाउँछ, बाली लुट्न अर्कै आउँछ ।’
भारतीय हस्तक्षेपको भत्र्सना
आफूमाथि लाग्दै आएको र पछिल्लो समय सहनै नसक्ने गरी लगाइएको भारत परस्तको आरोपको पनि बाबुरामले डटेर प्रतिवाद गरे । पत्रकार सम्मेलनको शुरुवातमै उनले आफूमाथि लगाइएको आरोपको खण्डन गरे ।
उनले भारतको पछिल्लो अघोषित नाकाबन्दी, नेपालको संविधानप्रति दिएको टिप्पणीप्रति आपत्तिमात्र जनाएनन्, भत्र्सना पनि गरे । ‘हाम्रो संविधान कस्तो बनाउने हाम्रो कुरा हो, हामीलाई कसैको दबाब स्वीकार्य छैन’ उनले भने ।
उनले २०४५ सालमा लोकतन्त्रको बहानामा र अहिले मधेश संघीयताको बहानामा भारतले नेपालमाथि हस्तक्षेप गरेको बताए । ‘हाम्रो दक्षिणी छिमेकीले दृश्य अदृश्य रुपमा दिएको दबाब र अघोषित नाकाबन्दीको भत्र्सना गर्दछु’ उनले भने ।
मेरो भविष्यवाणी सही थियो
नेपालमा यो अवस्था आउँछ भनेर आफूले केही दिनअघि नै भविष्यवाणी गर्दा नकारात्मक टिप्पणी गरिएको भन्दै उनले दुःख व्यक्त गरे । बाबुरामले भने-‘मैले यो अवस्था आउँदैछ भनेरै सोसल मिडियाबाट फरकास्ट गरेको थिएँ, भविष्यबेत्ताले पहिलेनै देख्छ,तर मेरो चेतावनीलाई मैमाथि प्रहार गर्ने अस्त्र बनाइयो ।’
बाबुरामले केही दिनअघि ट्वीटर र फेसबुकमार्फत नेपाल सुगौली सन्धी पछिकै सबैभन्दा अप्ठेरो मोडमा पुगेको र अबका २४ घण्टामा नेपाल अखण्ड रहने कि नरहने भन्ने निक्र्यौल हुने आशय प्रकट गरेका थिए ।
अन्तमा एक्लै..
पार्टी छाडेको घोषणा गरिरहँदा उनी एक्लै थिए । एमाओवादीकै स्थायी समिति सदस्य समेत रहेकी पत्नी हिसिला यमी पनि थिइनन् ।
पत्रकार सम्मेलन स्थल इन्द्रेणी प्लाजाका आठौं तलामा बाबुरामका लागि मात्र एउटा कुर्सी राखिएको थियो । यसले पनि उनी तत्काल एक्लै पार्टी छाडेर निस्किएको अर्थ लगाउन काफी थियो ।
यसको अर्थ तपाईले कम्युनिस्ट पार्टीनै नबनाउने हो त ? यो प्रश्नमा उनले नयाँ पार्टीको बारेमा आफूले कुनै निर्णय नगरेको बताए ।