कृष्णजन्माष्टमी पर्व श्रीकृष्णको ब्रत उपासना र पूजा आराधना गरी कृष्णाष्टमी मनाईदै


आज कृष्णजन्माष्टमी पर्व । देशका विभिन्न कृष्णमन्दिरहरुमा भगवान श्रीकृष्णको व्रतउपासना र पूजाआराधना गरीे यो पर्व मनाइँदैछ ।  । व्दापरयुगमा माता देवकी र पिता वासुदेवबाट भगवान विष्णुको आठौं अवतारको रुपमा श्रीकष्णको जन्म भएको थियो । भाद्रकृष्णपक्ष अष्टमी तिथिको मध्यरात रोहिणी नक्षत्रमा उहाँको जन्म भएकाले यस दिनलाई कृष्णजन्माष्टमी पर्वको रुपमा मनाउने गरिन्छ । नेपाली संस्कृतिमा यस रातलाई मोहरात्रिको रुपमा मनाउने चलन छ  । कृष्णाष्टमीका अवसरमा उहाँको बाल्यकाल झल्काउने बाललीला, यौवनकालको रासलीला लगाएतका कृष्णलीलाहरुको मञ्चन गरिन्छ । भगवान श्रीकृष्णले महाभारतको युद्धका बेला धनुषधारी अर्जुनको सारथि बनेर दिनुभएको ज्ञानयोग, कर्मयोग तथा भक्तियोगको दर्शन विश्वमै बेजोड मानिन्छ । श्रीमदभागवत गीताको रुपमा  परिचित यो ग्रन्थ वेद उपनिषद्को सारसंग्रह भएकाले धर्मग्रन्थका रुपमा सम्मानीत छ । 
कृष्णाष्टमीका दिन उहाँको जीवनी र ज्ञानले भरिएका कृष्णचरित्र,भगवतगीता,महाभारत, श्रीमदभागवत महापुराणको वाचन श्रवण गरिनुका साथै घरघरमा राधाकृष्णको भजनकीर्तन र पूजाआजा गरिन्छ । आज पाटनको कृष्णमन्दिर, काठमाडौको स्वयम्भूस्थित गीतामन्दिर,बूढानीलकण्ठस्थित इस्कोन मन्दिरलगाएत कालीगण्डकी नदीकिनारमा रहेका देवघाट केलादीघाट रुरुक्षेत्रमा रहेका  कृष्णमन्दिरका साथै देशैभर भगवान कृष्णको विशेष भक्ति र उपासना गरी कृष्णाष्टमी पर्व मनाइँदै छ ।