नेपालले गर्यो चीनलाई यस्तो आग्रह

मिडिया एनपी, काठमाडौं, १३ असोज । नेपाल सरकारले भूकम्पपछि अवरुद्ध भएको चीनसँगको व्यापारिक नाका शीघ्र सञ्चालनका लागि सहयोग गर्न चीनसँग आग्रह गरेको छ ।
वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताईलाई भूकम्पपछि प्रभावित भएको व्यापारलाई सहज बनाउन पहल गर्न आग्रह गरेका हुन्। राजदूत चुन्ताईलाई बुधबार मन्त्रालयमै बोलाएर सचिव उपाध्यायले सीमा क्षेत्रका नाकाहरुलाई चाँडो सञ्चालनमा ल्याइ व्यापारलाई सहज बनाउन आग्रह गरेका हुन् ।
अत्यावश्यकीय पदार्थ आयात सहज बनाउन र भन्सार नाका शीघ्र सञ्चालन गर्न आग्रह गरेका सचिव उपाध्यायले नेपालीको चाडवाड नजिकिँदै गर्दा मानवीय सामग्रीको अभाव भएको र त्यसलाई सहज बनाइदिन अनुरोध गरेका छन् । जवाफमा राजदूत चुन्ताईले चाँडो चीनसँगको नाका सञ्चालन गर्न आफूहरु प्रयासरत रहेको भन्दै केही दिनमै व्यापार सहज हुने विश्वास दिलाएका छन् ।