![]() |
नेपाली सेनाले जिम्मा लिएपछि कालीगण्डकी करिडोरको बागलुङखण्डमा निर्माण द्रुत गतिमा अघि बढेको छ।
उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको उक्त आयोजनाको बागलुङखण्डमा गत असार दोस्रो सातादेखि नेपाली सेनाले काम सुरु गरेको हो। १२ किमीको मालढुङ्गा–टाकुरीखण्डको ६० प्रतिशत काम पूरा भइसकेको नेपाली सेनाको कालीगण्डकी करिडोर सडक निर्माण कार्यदलले जनाएको छ।
यसअघि कालीगण्डकी करिडोरको आयोजना कार्यालयमार्फत समयमा काम हुन नसकेपछि सरकारले नेपाली सेनालाई जिम्मा दिएको हो। असोजभित्रै मार्ग खोल्ने काम पूरा हुने कार्यदलका इन्जिनियर प्रमुख सेनानी रेश्मीराज भट्टराईले बताए। रु १५ करोड लागतमा सडक निर्माणको जिम्मा नेपाली सेनाले लिएको हो।
सेनाले यसअघि गुल्मीको रिडीदेखि बागलुङको पालुङखोलासम्मको ४२ किमीको जिम्मा लिई मार्ग खोल्ने काम पूरा गरिसकेको छ।
त्यस्तै पालुङखोला–टाकुरी २१ किमी खण्डको निर्माण जिम्मा दिए आगामी वर्षभित्र गुल्मी–बागलुङ–जोमसोम गरी १६४ किमीमा सिधा यातायात चल्ने सेनाले जनाएको छ। बेनी–जोमसोमखण्ड सेनाले जिम्मा लिई २०६४ सालमै पूरा गरिसकेको छ। सेनाले कालीगण्डकी करिडोरअन्तर्गत रिडी–पालुङखोला–मालढुङ्गा (७५) किमी सडकखण्डको निर्माण तथा विस्तारको जिम्मा लिएको छ।
वर्षात्को समयमा अवरुद्ध बनेको रिडी–अर्बेनी–पालुङखोला खण्डको मर्मत सुधार गरी यातायात सञ्चालन गरिएको प्रमुख सेनानी भट्टराईले जानकारी दिए।
त्यस्तै अर्बेनी–पालुङखोला (१४) किमीमा तत्काल पहिरो सफा गरी यातायात सञ्चालन गर्ने योजना रहेको उनको भनाइ छ। सेनाको निर्माण कार्यदलले सडकको विभिन्न स्थानमा नाली, ब्रेष्टवाल, रिटेनिङवाल, ग्राभेलजस्ता कार्य गर्नुपर्ने आवश्यक रहेको त्यसका लागि बजेट आवश्यक रहेको जनाएको छ।
“बाह्रैमास यातायात चलाउन गुदी खोला र पालुङखोलामा बेलीब्रिज हाल्नुपर्ने छ, त्यस्तै आठभन्दा बढी ठाउँमा कल्भर्ट हाल्नुपर्ने देखिन्छ” – प्रमुख सेनानी भट्टराईले भन्नुभयो । सेनाले जिम्मा लिएको सडकका लागि सरकारले हालसम्म रु ५६ करोड ६४ लाख विनियोजन गरिसकेको छ । गतसाता करिडोरको बागलुङखण्डको अनुगमनका क्रममा अर्थमन्त्री डा रामशरण महतले करिडोरको निर्माणमा सरकारले बजेटको कमी हुन नदिने बताएका थिए।
By — Unknown